उसले चुमेको देश



“यात्रुहरूलाई यो अनुरोध गरिन्छ कि उडान नम्बर .....ले रसिया पाल्नु हुने यात्रुहरू कृपया २ नम्बर गेट अगाडि पाल्नु होला “ - कुर्चीमा निदाइरहेको  निमेश अचानक ब्युझियों।  


खेलकूदको एउटा सेमिनारको लागि ऊ रसिया हिडेको थियो।  घण्टौको  उडान पछि ऊ पुग्यो पनि मस्को।  


सान्द्रा उसलाई लिन आएकी थिई।  


“ कस्तो रहयो निमेश जी तपाईंको   उडान “ - सान्द्राले  गाडीको ऐनामा कपाल मिलाउदै थिई।  


“ लामो उडान , म धेरै समय निदाए पनि” - निमेश चश्मा मिलाउँदै  उत्तर दियो।  


“आज  होटेलमा रेस्ट गर्नु , भोलि हाम्रो सेमिनार छ , बेलुका स्वागत पार्टी छ नि “ -    सान्द्राले हाँस्दै भनी।  


“हवस्” - निमेशको सानो स्वरमा  उत्तर दियो।  


भोलि भयो।   


“आज हामी फिगर स्केटिंग को नयाँ नियमको बारेमा यो सेमिनार तयार गरेका छौ “ -  दिउसै देखि भोड्का खाएको जस्तो एउटा जुंगेले ठूलो स्वरले सेमिनार उद्घाटन गर्यो।  


“ फिगर स्केटिंगमा ट्रिपल जम्प गर्न तिम्रो देशमा कसरी सिकाइन्छ निमेश ?” - बिहान देखि तीनचोटि ट्रिपल जम्प गरेर आएकी जस्ती एउटी लिखुरीले सोधी।  


“ अँ हामीले रसियाबाट केही प्रशिक्षक मगाउने विचार गरेका छौं “ - ट्रिपल जम्पको बारेमा केही थाहा नभएको निमेशले रातो हुँदै जवाफ  दियो।  


        ***     *** ****
बेलुकाको स्वागत पार्टी।  


“हेलो निमेश , पिउँदै छौ ? - टिल परेर आएको एउटा नर्वेयिनले ले निमेशको गिलासमा भोड्का थप्यो।  


“ स्काई जन्पिङ्गमा तिम्रो देशका खेलाडीले कति सम्म कटाउन सक्छन् ?“ - क्यानडाको माइकलले उत्सुकताको साथ साथ निमेशलाई प्रश्न गर्यो।  


“आल्पाइन स्किंग मा त्यो अन्नपूर्ण हिमाल ठीक छ जस्तो छ नि , वर्षमा कतिवटा इवेन्ट हुन्छ? “ - एउटी कोरियन प्रशिक्षक जस्ती आएर फेरि कटाक्ष प्रश्न गरी उसलाई ।


“एकछिन है “ - निमेशलाई अलि भाउन्न भयो।  यति हीनताबोध कहिल्यै भएको थिएन  , निमेश सोफामा पल्टियो।   एकछिन मै निदायो।  


                                     *** *** ***


“ ओइ  निमे,  आइजा बिसौनीको चौतारीमा  बाघचाल  खेलौं “ - सपनामा निमेशले तारुलाई देख्यो।  


“ हुन्छ नि, तैंले  बाघ नै लि है  “ - निमेशले  हर्केले  चौतारीको ठूलो ढुंगामा कोरेको बाघचाल खेल्ने बोड पुछ्यो।  


दुबैजना बाघचाल खेल्दै थिए , अचानक आकाशमा  जहाज उडेको देखियो।  


“ तारु तलाई थाहा छ ,  त्यो जहाज कहाँ जान्छ ? “ - निमेशले सोध्यो।
“ विदेश जान्छ विदेश “ - उमेरले पनि  अलि बढी, तारुले जानेकी,   उत्तर दिई।  


“विदेश भनेको कहाँ  हो ? “ - निमेश  बाख्राको गोट्टी लिएर सोध्यो।  


“अर्कैको देश “ - जवाफ दिई  तारुले  बाघचालमा अर्को बाख्रा पनि च्याप पार्दै  खेलमा ।


यत्तिकैमा “ए निमे छिटो घर आइजा “ - हजुरआमाले डाँडामाथिबाट चिच्चाएको  बेसीको चौतारीसम्म सुनियो।  


“एकछिन खेल्न पनि दिन्नन्  बुडी “ - निमेश थन्थनाउँदै लाग्यो घरतिर।


“ हजुरआमा,  तारुले भनेको विदेश भनेको अर्काको देश रे “ - निमेशले भात पस्कदै गरेकी हजुरआमालाई सोध्यो।  


“ हो त  पराईको देशलाई विदेश भन्छन् “ - हजुरआमा।


“ अनि हाम्रो देश नि “ - निमेशको बालसुलभ प्रश्न थियो।  
“ यही  त हाम्रो देश “ - हजुरआमा।  


“यही भन्नाले के “  - निमेशको प्रश्न लगातार थियो।  


“यही भन्नाले हाम्रो घर , बिसौनाको चौतारी , हजुरआमा , बाबा आमा , तारु , हर्के , टारी खेत , मालीगाई  सप्पै
हाम्रो देश हो के “ -  हजुरआमाले बुझ्ने गरी भनिन्।  


                     ***     ***       ***


“ मिस्टर निमेश , जाने  होइन,  तपाईं त निदाउनु भएछ “ - सान्द्राले निमेशलाई उठाई।  


“ अहो कस्तो निदाएछु “ - निमेश सान्द्रासँगै  हतारिदै निस्क्यो।   


“ल म तपाईंलाई होटेलसम्म पुर्याउछु” - सान्द्राले भनी।  


गाडीमा निमेशले अघिको सपना सम्झ्यो , हजुरआमा , तारु,  हर्के, मालीगाई।  


गोजीमा छाम्यो , हरियो नेपाली पासपोर्ट रहेछ   र सम्झ्यो -  मेरो देश,  मेरो गाउँ , मेरो बिसौनीको चौतारी।  

पासपोर्टलाई  सुमसुमायो र एकचोटि चुम्यो ,  निमेशलाई भक्कानो छुटेर  आयो।  


“म अर्को वर्षको  हिउँदे  ओलम्पिकमा नेपाली खेलाडीलाई जिताएर छोड्ने छु , फिगर स्केटिंगमा।  मेरो गाउँ मेरो देश
पनि के कम छ र” -निमेशले गाडीभित्र  आँशु पुछ्दै  मनमनै संकल्प गर्यो।  

“ ल तपाईको होटल आयो नि , अरे तपाईंका  आँखा त भिजेका छन् नि “ - सान्द्रा आश्चर्य मान्दै थिई।  

“ अँ , अलि  बढी भोड्का खाएछु , अल्कोहलले मलाई त आँशु आउँछ “ - निमेश लजाउँदै भन्यो।  
 
सान्द्राको गाडीबाट ऊ ओर्ल्यो र  हातको पासपोर्ट कोटको भित्री खल्तीमा  राख्यो।

खै  किन हो कुन्नि,  मस्कोको त्यो ठिहिराउने जाडोमा पनि पासपोर्ट कोटको भित्र राखेपछि ,
उसलाई त्यो कोट सदाभन्दा  आज अलि बढी न्यानो लागेर आयो।  
                    

                   *** *** ***


Comments

Popular posts from this blog

सिंह खरायो कथा

Privacy Policy

एबाकस र कप्युटर संसार