सीके लाल, प्रोपोगाण्डा र राष्ट्रियता
केही दिन अगाडि नाम चलेको एउटा अनलाइन मिडियामा प्रसिद्व लेखक सीके लालको विवादास्पद लेख पढ्न पाइयो। राष्ट्रियता सम्बन्धी त्यो लेख अलि कपोलकल्पित , आधारहीन रही लेखको उद्देश्य एउटा साधारण नेपालीलाई मान्य थिएन।
तर त्यो लेखले मलाई राष्ट्रियताको बारेमा सोच्न लगायो। यो राष्ट्रियता भन्ने शब्द राजतन्त्र देखि वर्तमान सम्म एउटा चपाउने बबल गमको रुपमा प्रयोग भैरहेको छ। र यो निश्चय नै संवेदनशील विषय पनि हो। तर मेरो यो लेखको उद्देश्य भविष्यमा कुनै पार्टीको टिकटको सीट पाउन पनि होइन,नत कसैको प्रशंसा बटुल्नु नै हो।
ल यो विचार गरौ , यो अप्ठ्यारो शब्द राष्ट्रियताको बारेमा। साधारणत “यीता” भन्ने शब्द दीर्घ लेखिन्छ। तर पूर्व राजा महेन्द्रले कहाँ हो ह्रस्व लेखेछन् , अनि त्यो समयबाट बलजफत राष्ट्रियता ह्रस्व लेखिएको रे , सानोमा स्कूल पढ्दा सुनेको।
राष्ट्रियता भनेको भाषा र सस्कृति पनि निश्चय नै हो तर त्यो भन्दा माथि त्यहाँका नागरिकको स्वार्थ हो जस्तो लाग्दछ। त्यो अर्थमा
- नेपाली बोल्दैमा नेपाली नागरिक, नेपाली अर्थतन्त्रलाई नै हानी गर्ने गरी अन्तराष्ट्रिय सन्धि सम्झौता गरिनु राष्ट्रियता होइन , त्यो त राष्ट्र प्रतिको धोका हो।
- ५० डिग्रीको अरबको मरुभूमिमा नेपाली छोराहरुलाई लदाएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दिनको ३-४ वटा मृत नेपाली छोराहरुलाई स्वागत गर्दै , रिमिटेन्सले गर्दा अर्थतन्त्र माथि गयो भन्ने योजनाकार , र त्यो स्थिति पैदा गर्ने जिम्मेवार हामी सबै नेपाली राष्ट्रवादी हौं र।
- टिभीमा एउटा पत्रकारको निम्न स्तरीय अन्तरवार्तामा हल्लाबाजी गर्ने तर त्यही निम्नस्तरीय भाषा , ठगी , धोकेबाज चित्रित गरिएको निम्नस्तरीय टिवी सिरियल हेरेर रमाउने हाम्रो मानसिकताले डोराएको धूर्त र ठगी गर्ने सामजिक सोचाई पनि राष्ट्रियता हो र।
- २०० वर्ष अगाडिका सिद्दान्तको आधारमा सोझा साझा जनतालाई उचालेर राजनीति गरेर रगतको खोला बगाइनु , अनि त्यो राष्ट्रियतारुपी चपाउने गम सिद्दान्तरुपी बिषालु चिनी मिसाएर जहिलेसुकै गरिने सिद्दान्तको राजनीति पनि राष्ट्रियता हो र।
देशलाई अहिले ठूलो भाइचाराको खाँचो छ। हामीले नेपालीले उठेर एकापसलाई हातेमालो गर्नु छ। जब म नेपालमा थिए , मलाई याद छ तराईबाट आएका नेपाली साथीलाई कति होचेर व्यवहार गरिन्थ्यो। उनीहरू पनि हामी जस्तै दाजुभाई हुन् भनेर महशुश गर्ने वातावरण नै थिएन। र हामी बाहिरबाट आएकालाई , रैथाने काठमाडौको वासिन्दा नभएको कारणले नै कति हेपिन्थ्यो। किन यस्तो थियो र अझै पनि यस्तै छ।
विदेशमा पनि अवस्था उही छ। नेपालीले नेपालीलाई नै शोषण गर्छन्। जहिले पनि मिडिया र पदको पछाडि मात्रै दौडेको देख्दछु। जहिलेसुकै उही अनुहार। केही भिजन , व्यक्तिगत स्वार्थ बाट उठेर नेपालीको लागि भनेर गरेकोव्यावसायिक विशेषता खासै केही देखिदैन।
अधिकारी या नियोग पनि राष्ट्रलाइ टेवा पुग्ने कुरामा खासै योजना या भिजन देखिन सकेको छैन । निश्चय यो लेखक पनि अपवाद छैन।
जापानलाई हेरौ। ३ वर्ष अघिको कुरा हो। महाभूकम्प र सुनामीले उत्तरी जापान ध्वस्त नै पार्यो। हजारौले आफ्ना आफन्त गुमाए। एउटा घटनाले मेरो मुटु छोयो। मार्चको बिहानको जाडो थियो। कसैले सुप पकाएर बाँडेको थियो।
घरबार गुमाएका मानिसहरु कप लिएर सूप थाप्न लाइन लागेर बसेका थिए। मानिस धैर्यसँग पर्खेर बसेका थिए।
बीचमै सुप सकियो। सूप नपाएका मानिसहरु चुपचाप आफ्नो बाटो लागे। अचम्मको कुरा के थियो भने लाइनमा उभिएका कसैले एउटाको सट्टा दुइटा कप लिएको थिएन, नत दोहोराएर कसैले दुईचोटि सूप थाप्न लाइन बसेको थियो।
त्यो बेला धेरै टाढाको ओकिनावा भन्ने प्रान्तबाट पनि भूकम्पपीडितलाई बोराका बोरा चामल पठाएका थिए।
त्यो कुरा हाम्रो नेपालमा गर्न सकेको भए , झापाबाट जुम्लामा चामल पठाउन सकेको भए , त्यो सडेको चामल खाएर
जुम्लाका मानिसले पखाला लागेर दु:ख पाउनु पर्ने थिएन। त्यो उद्दार नै राष्ट्रियता हो जस्तो लाग्दछ।
हाम्रो समाजलाई एउटा बलियो र अहम् समझदारी आवश्यक छ। जस्तो कि घुस लिएर ठगेर बनेको पुल भत्क्यो भने त्यसमा मर्ने त तिम्रै आफ्नै आफन्त हुन सक्छन् नि। कम गुणस्तरको बिस्कुटको प्रचार गर्ने कम्पनी मालिक या टिवी स्टेशन मालिकले के बुझ्नु पर्छ भने कमसल बिस्कुट खाएर हुर्केका नानीहरु अन्ततोगत्वा भविष्यमा तिम्रै कारखाना या टिवी स्टेशनमा काम गर्ने कर्मचारी हुन सक्छन् नि । अनि ती अस्वस्थ नागिरकले तिम्रो कम्पनी थेग्न सक्छ।
हामीहरू एकले अर्कोलाई व्यापार गर्ने होइन कि , एकले अर्कोलाई आँशु पुछ्ने एउटा विराट इको सिस्टममा बाँचेका छौ। र सहयोग र हातेमालोको यो इको सिस्टम जोगाउनु नै वास्तविक अर्थमा राष्ट्रियता हो कि जस्तो लाग्दछ।
*** *** ***
Comments