तीजुको पात



हामी सानोमा हुँदाको कुरा हो।  गाई चराउन तीलछरे भन्ने चौरमा डियाँ ( गाईबस्तु ) लिएर जान्थ्यौ।  गाई भैसी  फुकायो , चौर तिर लग्यो।

गाईभैसी चर्न थाल्छन् , हाम्रो काम त अनि खेल्ने नै हो। कहिले चोर पुलिस , कहिले लुकामारी , कहिले भाडाकुँडा।  

एकदिनको कुराहो , त्यही लहरमा ठुले दाईसँग सल्लाह भयो दोकान थाप्ने रे।  हाम्रो स्कूल निर अलि  अलि बजार जस्तो थियो।  त्यहाँ केही चिया पसल थिए।  अनि ती दोकान हरु देखेर हामीले पनि दोकान थापेर केटाकेटीको खेल खेल्ने विचार गर्यौ।  

अनि कसैले कपडा दोकान , कसैले चिया पसल , कसैले किराना पसल।  निश्चय नि हाम्रा सामान त्यही चौरमा फेला परेका ढुंगा , माटो  आदि नै थिए।  

पसल  त थापियो , अब पैसा के लाइ मान्ने , ठुले दाईले आइडिया निकाले।  तीजु ( खल्लु ) को ठूलो रुख थियो।  
त्यसको पात पैसा बनाउने ! ठुले दाई पात टिप्न गए।   एक डोको पात टिपेर आए।  अनि दोकाने , ग्राहक बनेका हामीलाई सय सय पात बाँडे।  अनि हामी दिन भरि व्यापार गरियो।  घरि ढुंगारूपी  विस्कुट किनियो।  
घरि माटोरूपी  गुडिया पातरूपी नोटले किनियो।  दिनभरि व्यापार घम्साघम्सी  भयो।  दिलिपेले राम्रो व्यापार गरेछ।  
हजार रुपैयाँ पारेछ।  

घाम पनि  ठूली भीरमाथि पुगिछन्।  माथि घरबाट आमाहरूको ठूलो बोलावट  गहरा गहरा गुन्जिएर सुनियो।
“ ए ठुले , छिटो घर आइजा त , साँझ पर्न थाल्यो “ - ठुलेकी आमाको नाके स्वर तील छरेको चौर सम्म सुनियो।  

“ल भाईहरू हो आजको खेल सिद्दियो “ - ठुलेले गोधूली परेको हाम्रो बजार बन्द गर्ने सूचना दियो।  

“ ए.… , यो पैसा के गर्ने नि “ - दिलिपेले दिनभरिको  आर्जन एक मुठी तीजुको पात देखायो।  

“यही चौतारोमा फाल , कुहेर मल होला नि “ - जान्ने बुझ्ने ठुलेले हाँस्दै भन्यो।  
“ हुर्रर.…” - दिलिपेले दिनभरिको  आर्जन अलि अलि संकोच मानी मानी फाल्यो।  

          *** *** ***

“ सर  पानीको पच्चीस रुपैयाँ “ - अचानक बसभित्र पानी बेच्न आएको  केटोको तीखो आवाजले ऊ आफ्नो सीटमा नै बिउझियो।  
“ उफ  कस्तो सपना देखेछु  गाँठे “ -  दोहाबाट चढेर प्लेनमा रामरेरी ननिदाएको दण्डपाणि  आफ्नो सपना नै
सम्झेर असरल्ल पर्यो।  

“ओहो  नेपालमा के अचाक्ली भएछ।   ५० रुपैयाँ मा हिडेको चरिकोट सम्मको बाटो को बस भाडा ५०० भएछ।  
चार कक्षाको कितापमा त हाम्रो देश पानी को धनी भन्थे नि , यहाँ  त  पानी पनि किनेर खानु पर्ने , दोहामा त पानी नै छैन
र पो  त  ।   यहाँ  त बाटाको छेउमै त्यत्रो मान्छे बगाउने नै नदी बगेको छ नि।  “ - ऊ मनमनै सोच्यो।  

“पानीको पच्चीस रुपैयाँ रे “ - उसले  पानी बेच्ने केटालाई सोध्यो।  
“ हो सर पच्चीस , मिलाएर देको छु , लिनुस् न  “ - त्यो सानो केटो बेच्नलाई कसीकसाउ थियो।  

ढुंगे धाराको पानी  बोतलमा बोकेको त्यो ब्यापारी केटो किन हो किन उसलाई  बालसखाको  दिलिपे जस्तो लाग्यो।  

सय रुपैयाको नोट निकाल्यो र दियो।  

“ यो  सय रुपैयाको नोट तीजुको पात जस्तो छ नि , हरियो हरियो “ - उसले  पानी बेच्ने केटालाई  हास्दै सोध्यो।  
पानी बेच्ने केटो असरल्ल पर्यो।

दश वर्ष दोहा बसेको दण्डपाणि  रकमी बनेको हाम्रो समाज देखेर छक पर्यो , बसको झ्यालबाट टाढा देखिने तीजुका रुख र हल्लेका हरिया पात  हेर्दै।

                       ***                     ***          ***

Comments

Popular posts from this blog

सिंह खरायो कथा

राजु र चन्द्रमा मामा

Privacy Policy