चाँदनी चोक
केही वर्ष अगाडि कामको सिलसिलामा मलाई भारत जाने अवसर मिलेको थियो।
त्यही सिलसिलामा अन्तिम दिन , हामी चाँदनी चोक घुम्न पुगेका थियौं। अचाक्क्ली गर्मी थियो।
मानिसहरूको ठूलो भीडभाड। बाटोमा खेलौना , कपडा बेचेर बस्ने सडक ब्यापारी बग्रेल्ती।
त्यतिकै एउटा बुढी आमा हाम्रो नजीक आइन्। उनले एउटा चटकी जस्तो बेचेकी थिइन्।
हिन्दीमा लैजानु लैजानु भनेर कर गरेकी थिइन् , मसँग यहाँबाट गएका केही वरिष्ट कर्मचारी थिए।
उनीहरूले हिन्दी पनि बुझेनन् र त्यो चकटीमा केही चासो पनि देखाएनन्।
तर मलाई किन किन एउटा कुरामा निकै घत लागेर आयो। हुन त हामी नेपाली बस्ने उठ्ने सम्म भारत र भारतको संस्कृति
नभई बाच्न सक्दैनौ होला, सिनेमा , खानेकुरा , लगाउने फेशन सबै त्यहीबाट भित्रने हो कि जस्तो लाग्दछ।
यसरी हाम्रो जीवनशैलीको मक्का भनेको भारतको दिल्ली शहर अवश्य नै म भित्र पनि एउटा इतिहास भनौ कि
हुटहुटीले भरिएको शहर र भ्रमण थियो।
जापान आएको नि १८ वर्ष भयो। यहाँको प्रविधि र कैरियरलाई छोडेर वास्तवमा भन्नु पर्दा यहाँ किन हो किन विदेश नै अनुभव हुने गर्दछ।
तर म रत्नपार्कमा २-३ वर्षमा एकचोटि नेपाल जाँदा पुग्छु होला , फेरि पनि मलाई अथाह अपनत्वको वोध हुन्छ।
चाँदनी चोकमा पनि त्यही अनुभव भयो कि लाग्दछ , खै कुन्नि किन हो , आफूले सानोदेखि सुनेको जानेको कुरा
या भनौ आफ्नो इतिहाससँग जोडिएको भएर होला , टू बी फ्रान्क , मलाई २० वर्ष वसेको शिन्जुकु भन्दा चाँदनी चोकमा
आफ्नोपनको बोध भयो।
र त्यो बेला घुम्ने मेचमाथि बस्ने मसँग गएका एलिट वर्ग र त्यहाँ चकटी बेचिराखेकी ती बुढी आमाको वीचमा तुलना गर्दा खासै तात्विक फरक पनि देखिन किनकि
- दुवै रोटीकै संघर्षको सिलसिलामा चाँदनी चोक पुगेका थिए , चाहे रोटी सानो होस् या ठूलो।
- दुवैका हाँसोका र आँशुका दिन हुन्छन् र चन्द्रमाले सबैका हाँसोका र आँशु बरोबर रूपले हेरेकी होलान् आकाशबाट।
- र अन्तिममा त्यो चाँदनी चोकबाट देखिने र टोकियोबाट देखिने चाँदनी पनि एउटै होला नि।
Comments